प्रेस_विज्ञप्ति
उत्सवमा खुसी बाँड्यौँ, विपद्मा साथ बन्यौँ — प्रतिबद्धताबाट व्यवहारसम्मको एउटा मानवीय यात्रा।
मातृभूमिमा आइपरेको प्राकृतिक विपद्ले नेपाली मनहरूलाई पीडाबोध गराइरहेको विषम परिस्थितिमा, परदेशमा रहेर पनि देश र देशवासीप्रतिको आफ्नो कर्तव्यबोधलाई आत्मसात् गर्दै फुकुओका नेपाल सोसाइटी (FUNESO) ले अघि सारेको मानवीय अभियान आज एउटा सार्थक निष्कर्षमा पुगेको छ।
हामीले यसअघि नै जानकारी गराएअनुसार, बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत र पुनःस्थापनामा सहयोग पुर्याउने पवित्र उद्देश्यका साथ फुकुओका नेपाल सोसाइटी (FUNESO) द्वारा १२ सेप्टेम्बर २०२६ मा आयोजना गरिएको FUNESO तीज विशेष कार्यक्रम वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनासहित परिमार्जित स्वरूपमा सभ्य, भव्य र सफलतापूर्वक सम्पन्न गरिएको थियो।
हाम्रो उद्देश्य केवल एउटा सांस्कृतिक कार्यक्रम सम्पन्न गर्नु मात्र थिएन; आफ्नो खुसीको केही अंश दुःखमा परेका आफ्नै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको आँसु पुछ्ने सहारा बनाउनु पनि थियो।
सोही उद्देश्य र संस्थाले सार्वजनिक रूपमा व्यक्त गरेको प्रतिबद्धताअनुरूप कार्यक्रमबाट प्राप्त मुनाफाको एक चौथाइ अर्थात् २५ प्रतिशत रकम जापानी येन ९७,१४६ (¥97,146) बाढी तथा विपद् प्रभावित नागरिकहरूको राहतका लागि समर्पित गर्ने निर्णयलाई व्यवहारमा उतारिएको छ।
यसका साथै, विभिन्न नेपाली तथा जापानी संघ–संस्था, सामाजिक व्यक्तित्व, शुभेच्छुक एवं सहयोगी मनहरूबाट डोनेसन बक्समार्फत संकलित रकम समेत FUNESO मार्फत राहतका लागि हस्तान्तरण गर्न स्वेच्छाले प्राप्त भएका सहयोग रकमसमेत एकमुष्ट गरी कुल जापानी येन ३२३,१६० (¥323,160) नेपाल सरकारद्वारा सञ्चालित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको छ।
अत : यसअघि पहिलो चरणमा हस्तान्तरण गरिएको जापानी येन २११,९३७ (¥211,937) समेत समावेश गर्दा हालसम्म FUNESO मार्फत कुल जापानी येन ६३२,२४३ (¥632,243) नेपाल सरकारद्वारा सञ्चालित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको जानकारी गराउन पाउँदा हामीले आत्मसन्तुष्टि र गौरवको अनुभूति गरेका छौँ।
यो रकम केवल आर्थिक सहयोग होइन, नेपाली मनहरूको सामूहिक भावना हो।
यसमा कसैको सानो बचत छ, कसैको ठूलो सद्भाव छ, कसैको सेवाभाव छ त कसैको मातृभूमिप्रतिको अगाध माया। रकमको अंकभन्दा यसमा जोडिएको भावना, विश्वास र एकताको मूल्य धेरै ठूलो छ।
यस मानवीय अभियानलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र सद्भाव प्रदान गर्नुहुने सम्पूर्ण संघ–संस्था, पदाधिकारी, संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, मानार्थ सदस्य, सल्लाहकार, सदस्य, व्यवसायी, समाजसेवी तथा सम्पूर्ण सहयोगी मनहरूप्रति फुकुओका नेपाल सोसाइटी हार्दिक आभार तथा उच्च सम्मान व्यक्त गर्दछ।
विशेषगरी हाम्रो एउटा सानो प्रयासलाई विश्वास गरेर सहयोगको हात बढाउनुहुने प्रत्येक महानुभावप्रति हामी हृदयदेखि नै कृतज्ञ छौँ।
हामी विश्वास गर्दछौँ—
परदेशमा बस्दैमा मातृभूमिप्रतिको माया टाढिँदैन।
भौगोलिक दूरीले नेपाली मनहरूको आत्मीयता छुट्याउन सक्दैन।
र विपद्को समयमा फैलिएका सहयोगका हातहरू नै मानवताको सबैभन्दा सुन्दर परिचय हुन्।
हाम्रो यो प्रयास विपद्को घडीमा नेपाली एकता, सद्भाव र सेवाभावको एउटा सानो तर अर्थपूर्ण उदाहरण बन्नेछ भन्ने हामीलाई पूर्ण विश्वास छ।
अन्त्यमा, यस अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिनुभएका सम्पूर्ण सहयोगी मनहरूप्रति पुनः हार्दिक नमन तथा कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि नेपाल र नेपाली जनताको सुख–दुःखमा आफ्नो क्षमता र स्रोतअनुसार साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछौँ।
हाम्रो खुसी कसैको आशा बनोस्।
हाम्रो एकता कसैको सहारा बनोस्।
हाम्रो सानो प्रयास कसैको जीवनमा नयाँ उज्यालो बनोस्।
विपद्को घडीमा एकजुट बनौँ।
मानवताको सेवामा हातेमालो गरौँ।
फुकुओका नेपाल सोसाइटी (FUNESO)
फुकुओका, जापान

