नमस्कार,
म दिपक बि.क., फुकुओका नेपाल सोसाइटीको २८औं अधिवेशनबाट निर्वाचित अध्यक्षको हैसियतले आफ्नो संक्षिप्त परिचय र केही विचारहरू यहाँ प्रस्तुत गर्न पाउँदा अत्यन्त हर्षित छु। फुकुओका नेपाल सोसाइटीको आधिकारिक वेबसाइटमा यहाँहरुलाई हार्दिक स्वागत गर्दछु।
मेरो जन्म २०५२ साल साउन ३ (१९ जुलाई १९९५) मा बुवा तुलबहादुर बि.क. र आमा विष्णुमाया बि.क.को कोखबाट म्याग्दी जिल्ला, रघुगंगा गाउँपालिका–८, कुइनेमनगलेमा भएको हो । आधारभूत शिक्षा गाउँमै सम्पन्न गरी कक्षा १२ सम्मको अध्ययन म्याग्दी मल्टिपल क्याम्पसबाट पूरा गरेको थिए। उच्च शिक्षा हासिल गर्ने उद्देश्यले म २०१४ अक्टोबर इन्टेकमा जापानको फुकुओका शहरमा आएको थिए ।
जापान आएपछि १ वर्ष ६ महिना जापानी भाषा विद्यालय र २ वर्ष व्यवसायिक शिक्षालय (भोकेशनल स्कूल) मा अध्ययन गरेपछि, हाल म एक विदेशीलाई तोकुतेइगिनो, ट्रेनिंगमा सहयोग, पार्ट–टाइम काममा सहयोग लगाएतको काम गर्ने कम्पनीमा बिगत ८ वर्षदेखि निरन्तर रुपमा कर्मचारीको रूपमा कार्यरत छु ।
नेपालमै रहँदा विभिन्न क्लब तथा सामाजिक संस्थाहरुमा सक्रिय रहेर अनुभव बटुलेको म, जापान आएपछि पनि २०१९ देखि फुकुओका नेपाल सोसाइटीमा सदस्यको रूपमा आवद्ध भई सामाजिक कार्यमा सक्रिय रुपमा सहभागी भइआएको छु । साथै, म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय समिति, क्युस्युको संयोजक (२०२२–०२४) को जिम्मेवारी समेत सफलतापूर्वक निर्वाह गरिसकेको छु ।
फुनेसोमा मेरो भूमिका क्रमशः
२०१९–०२० कार्यकालमा सदस्य, २०२१–०२३ मा सह–सचिव, २०२३–०२५ मा उपाध्यक्ष, २०२५ को २८ औं अधिवेशनमा निर्विरोध अध्यक्ष चयन भई आज यस पदमा छु ।
म यो अवसरमा, मलाई यो जिम्मेवारी सम्हाल्ने अवसर दिनुहुने सम्पूर्ण सदस्यहरु, समाजसेवी महानुभावहरु तथा फुनेसोप्रेमीहरुप्रति हार्दिक आभार प्रकट गर्दछु ।
१९९५ मा स्थापना भएको यस संस्थालाई आजको गौरवमय अवस्थासम्म पुर्याउन योगदान पुर्याउनु भएका संस्थापकज्यूहरु, पूर्व अध्यक्षज्यूहरु, पदाधिकारीज्यूहरु, र अन्य सम्बन्धित निकायहरुप्रति समेत विशेष धन्यवाद ज्ञापन गर्दछु। भविष्यमा पनि उहाँहरुकै मार्गदर्शनमा संस्था अगाडि बढ्नेछ भन्ने विश्वास व्यक्त गर्दछु ।
हामी फुनेसो टिमले जापानको फुकुओकामा रहेका सम्पूर्ण नेपाली समुदायका सदस्यहरुलाई जीवनयापन, पेसागत विकास र सामाजिक उत्तरदायित्वका बारेमा सहयोग पुर्याउने प्रयास गर्नेछौँ। खुशी–दुःखमा साथ दिने, समस्याको समाधान खोज्ने र नेपाली समुदायको पहिचान झल्काउने अभिभावक संस्था बन्ने हाम्रो लक्ष्य हुनेछ ।
त्यस्तै गरी, हाम्रो महान सांस्कृतिक पर्वहरु (जस्तैः तीज, दशैं, तिहार आदि) लाई यहाँ उत्साहका साथ मनाउँदै जापानमा नेपाली संस्कृति, भाषा, कला र पर्यटनको प्रवर्द्धन गर्ने कार्यलाई पनि सशक्त रुपमा अघि बढाउनेछौँ । यस माध्यमबाट जापानी समुदायमा नेपालको पहिचान उजागर गराउँदै नेपालमा पर्यटक भित्र्याउन पहल गर्ने योजनासमेत रहेको जानकारी गराउन चाहन्छु ।
संस्थामा प्रारम्भदेखि नै आबद्ध रही सामाजिक कार्य गर्दै आइरहेको म, आफ्नो व्यक्तिगत लाभ भन्दा पनि बचेको समयलाई समाजको हितमा प्रयोग गर्ने सोच राख्दछु। आफ्नो सीप, अनुभव र ज्ञानलाई नयाँ पुस्तालाई हस्तान्तरण गर्दै, समाज रूपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्ने दृढ अठोट गर्दछु।
अन्त्यमा, म र मेरो सम्पूर्ण कार्यसमिति आगामी कार्यकालमा संस्थाको गरिमा, निष्ठा, र मुल्य–मान्यताको रक्षा गर्दै, पारदर्शिता, सहभागिता र उत्तरदायित्व सहित संस्थालाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दछु ।
दिपक बि.क.
अध्यक्ष
फुकुओका नेपाल सोसाइटी (२०२५–०२७)
जय फुनेसो